काठमाडौँ, बैशाख १२
निर्वाचन आयोगले गएको मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरूलाई निर्वाचन खर्चको विवरण पेस गर्ने निर्देशन दिएको छ ।
आयोगले हिजो विज्ञप्तिमा जारी गरी पाँच हजार पाँच सय ६१ जना उम्मेदवारहरूलाई निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो । आफूले गरेको निर्वाचन खर्च सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाउँपालिका वा नगरपालिका अथवा वडा कार्यालयको सूचना पाटीमा सार्वजनिक गर्न सकिने समेत आयोगको उक्त विज्ञप्तिमा जनाइएको छ ।
यसैगरी, राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेबसाइट (राजनीतिक दलका तर्फबाट उम्मेदवार भएका उम्मेदवारको हकमा), आमसञ्चारमाध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि) र सामाजिक सञ्जाल (फेसबुक, टिवटर, इन्स्टाग्राम) बाट पनि सार्वजनिक गर्न सक्ने आयोगले निर्णय गरेको छ । यसरी सार्वजनिक गरेको प्रमाणसहितको जानकारी सम्बन्धित उम्मेदवारहरूले आ–आफ्नो प्रदेश/जिल्ला निर्वाचन कार्यालयलाई दिनुपर्ने निर्णय भएको आयोगद्वारा हिजो प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।





