काठमाडौं, बैशाख १८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मजदुर आन्दोलनको गौरवशाली इतिहास आफ्नो पार्टीसँग रहेको बताउनुभएको छ ।
औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरेर स्थिर औद्यागिक वातावरण बनाउने काम एमाले सरकारकै पालामा भएको अध्यक्ष ओलीले उल्लेख गर्नुभएको छ ।
अन्तराष्ट्रिय मजदुर दिवशका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।
‘नेकपा एमाले त्यस्तो पार्टी हो जसको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरुका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गर्यो ’ शुभकामना सन्देशमा भनिएको छ ।
अध्यक्ष ओलीले जारी गरेको शुभकामना सन्देशमा नेपालको श्रमिक आन्दोलनको विरासत नेकपा एमालेसँग मात्र रहेको उल्लेख छ । ‘२००३ सालमा भएको मजदुर आन्दोलन मार्फत राणाशाहीहरुलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य पार्ने त्यस आन्दोलनको विरासत एमालेसँग छ ’ अध्यक्ष ओलीले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।





