काठमाडौँ, बैशाख ३०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको सिसडोल बञ्चरेडाँडा क्षेत्रको विवाद १० दिनभित्र समाधान गरी स्थानीय बासिन्दासँग भएका सम्झौता कार्यान्वयन गर्न निर्देशन दिर्नुभएको छ ।
हिजो शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपत्यकाको फोहोरप्रभावित नुवाकोट सिसडोल बञ्चरे क्षेत्रको समस्या समाधानका सम्बन्धमा भएको छलफलमा बोल्दै प्रचण्डले आन्दोलनरत पक्षका माग सम्बोधन गर्न निर्देशन दिर्नुभएको हो ।
निर्णय कार्यान्वयनका लागि शहरी विकासमन्त्रीको संयोजकत्वमा गठित समितिलाई निर्देशन दिर्नुभएको छ ।
बञ्चरेडाँडामा फोहोर अव्यवस्थित तरिकाले फालिएको, लिच्चड व्यवस्थापन नगरी खोलामा बगाइएको, स्थानीय बासिन्दालाई मुद्दा चलाएको र सम्झौताअनुसार पूर्वाधार निर्माण नगरिएको भन्दै नुवाकोटको ककनी गाउँपालिका,बेलकोटगढी नगरपालिका र धादिङको धुनिबेसी नगरपालिकाका बासिन्दा र जनप्रतिनिधि आन्दोलित छन्।





