काठमाडौं, जेठ २
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ ।
हिजो सोमवार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौति तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि सरकार र बजारले वित्त नीति भन्दा पनि मौद्रिक नीतिमा बढी अपेक्षा गरिएको बताउनुभयो।
उहाँले मौद्रिक नीतिबाट सरकारले धेरै अपेक्षा गरेपनि मौद्रिक नीतिमा सिमितता रहेकाले सबै अपेक्षा समेट्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले राजनीतिक व्यवस्थामा चेक एण्ड ब्यालेन्स भए जस्तै मौद्रिक र वित्त नीतिमा पनि आवश्यक रहेको बताउनुभयो । गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको बताउनु भयो। उहँले बैंक तथा वित्तीय क्षेत्रमा नीति र नियमनका कारण यो वर्ष वाह्य क्षेत्रमा सहज रहेपनि आगामी दिनमा चुनौतिपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले सरकारलाई अर्थतन्त्रलाई लयमा ल्याउनको लागि ठूलो चुनौति वित्त नीतिमा देखिएको बताउनु भयो ।





