काठमाडौं, जेठ ५
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ ।
शुक्रबार दिउँसो बस्ने संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ ।
राष्ट्रपति पौडेलको कमजोर स्वास्थ्य अवस्थाका कारण नीति तथा कार्यक्रम कसले प्रस्तुत गर्ने भन्ने दुविधा थियो । तर, पछिल्ला दिनमा पौडेलको स्वास्थ्यमा सुधार आएकाले उहाँ आफैले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
संघीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि साँझ ६ बजे बस्ने प्रतिनिधिसभाको अर्को बैठक साँझ ६ बजे बस्ने कार्यसूची छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति ‘टेबुल’ गर्नुहुने छ । बैठकमा सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।





