काठमाडौँ, जेठ १३
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस गर्ने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिनुभएको छ ।
हिजो वीर अस्पतालको आकस्मिक निरीक्षणपछि मन्त्री बस्नेतले अनलाइन टिकटको व्यवस्था, अस्पतालको सरसफाइ, शय्याबारे वेबसाइटमार्फत जानकारी र सघन उपचार कक्षमा शय्या थप्दै सेवा सहज रूपमा प्रवाह गर्न अस्पताललाई निर्देशन दिनुभएको हो ।
उहाँले भन्नुभयो, “वीर अस्पताल देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिनुपर्छ । एक हप्ताभित्र अनलाइन टिकट, फोहोर व्यवस्थापन, इमरजेन्सी र डाइलासिसमा शय्या थपेर सेवा सुधार गर्नुहोस् । ”
मन्त्री बस्नेतले वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको नौ शय्याको सघन उपचार कक्ष एक हप्ताभित्रै सञ्चालनमा ल्याउन पनि निर्देशन दिनुभयो । उहाँले वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कार्यालय अवधिभर नबसे कारबाही गर्न चेतावनी समेत दिनुभएको छ ।





