काठमाडौं, जेठ २५
देशभर अझैं गर्मी बढ्ने संकेत देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव दिएको छ ।
महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेसका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना रहेको छ । हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।
तराई, पहाड तथा खोँचहरुमा समेत अझै तापक्रम वृद्धि हुने पूर्वानुमान छ । तराई मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा पनि माथि पुगेको छ ।
यसअघि नै जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी गर्मी हुने र मनसुन अवधिमा कम पानी पर्ने प्रक्षेपण गरेको थियो ।





