चितवन, जेठ ३०
युथ क्लब नारायणगढले अन्तरराष्ट्रिय बालश्रम विरुद्धको दिवसको अवसरमा हिजो प्लेकाड प्रदर्शन तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
बालबालिकाको क्षेत्रमा ४५ वर्षदेखि काम गर्दै आएको क्लबले अन्तरराष्ट्रिय बालश्रम विरुद्धको दिवसको अवसर पारेर भरतपुरको चौविस कोठीमा हिजो सोमबार सन्देशमुलक प्लेकाड प्रदर्शन सहित मैनवत्ती बालेको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिका गैरसरकारी शाखा प्रमुख सुकदेव ढकालले बाल अधिकारको विषयमा काम गर्ने सस्था मध्य थोरैले मात्र दिवस मनाएको भन्दै सवैलाई बालअधिकारीको क्षेत्रमा आवाज उठाउन अनुरोध गर्नुभयो ।
बालबालिका भोलीका कर्णधार हुन् यस भनाइलाई हामी सवैले आत्मसाथ गर्दै उनीहरुको अधिकारको विषयमा सवै पक्ष गम्भिर भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बालअधिकारकर्मी दयाराम कडेलले घरायसी काम र बालश्रम बिचको अन्तर अभिभावकले जानकारी लिनु पर्ने बताउनुभयो । उहाले १४ वर्ष भन्दा कम उमेरका बालबालिकालाई कुनैपनि श्रममा लगाउन नपाइने लगाएको अवस्थामा कानुनले दण्डित गर्ने व्यवस्था रहेको बताउनुभयो । बालबालिकालाई जोखिमपूर्ण काममा लगाउदा लगाउने विरुद्ध मुद्दा लाग्ने भएकाले जोखिम कामको परिभाषा जानी राख्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा भरतपुर माध्यमिक विद्यालयका शिक्षक कुलिन्द्र वराल, युथ क्लबका निवर्तमान अध्यक्ष रामबाबु श्रेष्ठ, नेपाल पत्रकार महासंघ चितवनका सहसचिव आनन्द पोखरेल, भरतपुर माध्यमिक विद्यालयका विद्यार्थी सम्झना तामाङले बालश्रम हटाउन राज्य पक्षले प्रभावकारी काम गर्न नसकेको टिप्पणी गर्नुभयो । अधिकारको कुरा गर्ने, कागजमा अधिकार उल्लेख गर्ने तर व्यवहारमा अधिकारकाृ प्रत्याभूति हुने अवस्था नरहेको बताउनु भएको थियो ।
कार्यक्रममा भरतपुर माध्यमिक विद्यालयका विद्यार्थी, स्वतन्त्र अभियान,राष्ट्रिय बालसञ्जाल सस्था लगायतको सहभागिता रहेको थियो ।
क्लबका अध्यक्ष शालिग्राम नेपालको अध्यक्षतामा भएको कार्यक्रम क्लबका महासचिव रामचन्द्र आचार्यले सञ्चालन गर्नु भएको थियो ।






