चितवन, जेठ ३१
नारायणी लिफ्ट तथा खगेरी सिचाई प्रणालीको रेखाकंन भित्र रहेका अतिक्रमित तथा अव्यवस्थित बसोबासी हटाउन कार्यदल गठन भएको छ । नारायणी लिफ्ट खगेरी सिचाई व्यवस्थापन कार्यालय भरतपुरले यहाँ आयोजना गरेको नारायणी लिफ्ट र खगेरी सिचाई प्रणालीको नहरको अतिक्रमण गरि भएको अव्यवस्थित बसोबास सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यदल गठन गरिएको हो ।
नारायणी लिफ्ट खगेरी सिचाई व्यवस्थापन कार्यालयका प्रमुखको संयोजकत्वमा आठ सदस्यिय कार्यदल गठन गरिएको हो । कार्यदलमा जिल्ला प्रशासन कार्यालयका अधिकृत, भरतपुर महानगरपालिकाको अधिकृत, भूमि सुधार तथा मालपोत कार्यालयका अधिकृत, नापी कार्यालयका अधिकृत, नारायणी लिफ्ट उपभोक्ता समितिका अध्यक्ष, खगेरी सिचाई जलउभोक्त सिमितिका अध्यक्ष सदस्य रहने गरि कार्यदल गठन गरिएको हो । कार्यदलका सदस्य सचिबमा नारायणी लिफ्ट सिचाई व्यवस्थापन कार्यलयका अधिकृत रहने व्यवस्था गरिएको छ । कार्यदलले अध्ययन पछि अतिक्रमित जग्गाबाट हट्न सम्बन्धित पक्षलाई ३० दिने सूचना जारी गर्ने, उक्त समय भित्र अटेर गरि बसे सुरक्षा निकायको सहयोगमा हटाईने निर्णय भएको संयोजक घनश्याम कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नारायणी लिफ्ट सिचाई तर्फ नारायणपुर, कैलाशनगर, पारसनगर फुलवारी क्षेत्रमा नहरको अक्रिमण भएको छ भने खगेरी सिचाई तर्फ देवनगर, रामपुर, मंगलपुर गितानगर क्षेत्रमा अतिक्रमण भएको सो अबसरमा जानकारी दिईएको थियो ।
वि. सं. २०४० सालमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याईएको नारायणी लिफ्ट सिचाई आयोजनाबाट ४ हजार ७ सय हेक्टर क्षेत्रफल सिचाई हुने गर्दथ्यो । नारायणी नदीको लिफ्टङ् गरेर पानी निकाली नहरमा पठाईन्छ । जसबाट २५ हजार घर धुरी लाभान्वित हुने गरेका थिए ।
वि.सं. २०२६ सालमा सञ्चालनमा आएको खगेरी सिचाई आयोजनाले ३ हजार ९ सय हेक्टर क्षेत्रफल सिन्चित गर्दछ । खगेरी खोला, ताल र घोलहरुबाट आएको पानीलाई संकलन गरि नहरमा पठाईने गरिएको छ ।जसबाट १५ हजार घर धुरी लाभान्वित हुने कार्यक्रममा जानकारी दिईयो ।
सो अवसरमा राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य, भरतपुर महानगरपालिका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, राजनैतिक दलका प्रमुख एबं प्रतिनिधिहरु, राष्ट्रिय भूमि आयोगका केन्द्रीय उपाध्यक्ष, जिल्ला अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, भरतपुर महानगरपालिकाका वडा अध्यक्षहरु, नारायणी लिफ्ट सिचाई उपभोक्ता समितिका अध्यक्ष, खगेरी सिचाई प्रणाली उपभोक्ता समितिका अध्यक्ष लगाएत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।





