चितवन, असार ११
चितवनको रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । हिजो आइतबार नगरकार्यपालिकाको सभाहलमा आयोजित १३औँ नगरसभामा नगरप्रमुख सापकोटाले १६ वटा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
नगरप्रमुख सापकोटाले नगरक्षेत्रका मुख्य सडक र चोकहरुमा सडक बत्तीमार्फत उज्यालो रत्ननगर अभियान सञ्चालन गरिने, स्थानीय समावेशी सरसफाइ कार्यक्रमलाई प्राथमिकता दिँदै दिसाजन्य लेदो र ढल व्यवस्थापनसहित नगरगौरवको योजना कार्यान्वयन, सडक सञ्जालको विकास गरी रिङरोडको अवधारणालाई कार्यान्वयन, पर्यटन प्रवर्द्धन गर्दै नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने, पञ्चकन्या सामुदायिक वनमा कृष्णसार राख्नका लागि पूर्वाधार सम्पन्न गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
यस्तै, सौराहालाई सौन्दर्यीकरण गर्न फुटपाथसहितको साइकल लेन निर्माण गरी सडकबत्ती जडान गर्ने, हरियाली पार्कलाई बहुउद्देश्यीय अवधारणाबाट सञ्चालन गरी पर्यटन प्रवर्द्धन गर्ने, लौरीघोल र पञ्चनदीलाई व्यवस्थित गर्न पदमार्ग निर्माण गरी संरक्षण गर्ने, एक घर एक धाराको नीति अवलम्बन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
यसैगरी, सामाजिक तथा सांस्कृतिक रुपमा पछाडि परेका नगरवासीलाई उद्यमशीलता प्रवद्र्धन गर्ने, नगरप्रमुख उद्यमशील कार्यक्रमलाई निरन्तरता दिने, उद्योग संघ चितवनसँगको सहकार्यमा उद्यमी सिर्जना गर्ने, नगर सूचना प्रविधिमैत्री, सेवाप्रवाहलाई सरलीकृत, गुणस्तरीयर रोजगारमूलक शिक्षाको विकास गर्दै व्यवसायिक र सीपमूलक कार्यक्रमलाई थप विस्तार, गरिब तथा विपन्नलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई थप विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरी नगरप्रमुख सापकोटाले रत्ननगर नगरपालिकाको विषयगत शाखाहरु आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासको छुट्टाछुट्टै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, पर्यटन विकास, सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा विकास, बालबालिका, युवा तथा खेलकुद, सुशासनको प्रत्याभूति, स्थानीय कला, संस्कृति, साहित्य र भाषाको प्रवर्द्धन, सूचना सञ्चार तथा प्रविधिसम्बन्धी नीति, अनुसन्धान, उद्योग व्यवसायसम्बन्धी नीति र वातावरण तथा विपद् व्यवस्थापन नीतिहरु आगामी वर्षको कार्यक्रममा समेटिएका छन् ।
नगरसभामा रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले १ अर्ब ३३ करोड ७२ लाख ७३ हजारको अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ । उपप्रमुख पाठकले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्षमा आर्थिक विकासतर्फ रु २ करोड ५ लाख ६५ हजार, सामाजिक विकासतर्फ रु २ करोड ५७ लाख ६ हजार, पूर्वाधार विकासतर्फ रु ३ करोड ८ लाख ४८ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ८२ लाख २६ हजार, सुशासन तथा संस्थागत विकासतर्फ रु ५१ लाख ४१ हजार खर्च हुने अनुमान गरिएको छ ।
यस्तै, नगर गौरवका आयोजनातर्फ रत्ननगर हरियाली पार्क रु ३ करोड २० लाख, सार्वजनिक जग्गा संरक्षण तथा घेराबार कार्यक्रमका लागि २० लाख, उज्यालो रत्ननगर अभियानका लागि १ करोड ५० लाख, नगरप्रमुखसँग उद्यमशील कार्यक्रम १ करोड, रत्ननगर १० मा फुटबल खेलमैदान निर्माण १ करोड, विपन्नका लागि ५० प्रतिशत छूटमा स्वास्थ्य बिमा ७५ लाख, कृष्णसार वासस्थान व्यवस्थापन ५० लाख, लौरीघोल र पञ्चनदी संरक्षण तथा पार्क निर्माण ५० लाख रकम विनियोजन गरिएको छ ।
अन्य निकायका योजना सडकबोर्डतर्फ रु ८० लाख, सामाजिक सुरक्षातर्फ ३० करोड, प्रदेश पूर्वाधार विकास साझेदारीतर्फ रु ९ करोड २७ लाख ६१ हजार, वित्तीय समानीकरण अनुदान १ करोड ९६ लाख ६३ हजार, सशर्त अनुदान ३ करोड ३० लाख ९८ हजार, समपूरक अनुदान ३ करोड, विशेष अनुदान १ करोड, जनसहभागिता १ करोड ५० लाख, श्रम तथा वस्तुगत सहायता १ करोड ५० लाख बजेट अनुमान गरिएको छ ।
उपप्रमुख पाठकका अनुसार आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ रु ९७ करोड २१ लाख ६१ हजार र राजस्व ३५ करोड १ लाख १२ हजार, राजस्व बाँडफाँट रु २० करोड ८१ लाख १२ हजार, आन्तरिक आय रु १२ करोड हुने बजेटमा अनुमान गरिएको छ ।
नगररपालिकाको १६ वटै वडाको लागि बजेटमा व्यवस्था गरिएको छ । जसअन्तर्गत वडा नं १ का लागि रु ९० लाख ९३ हजार, वडा नं २ का लागि ८९ लाख ४७ हजार, वडा नं ३ तर्फ रु ८६ लाख ९५ हजार, वडा नं ४ का लागि रु ८६ लाख ४२ हजार, वडा नं ५ का लागि रु ८६ लाख ६४ हजार, वडा नं ६ का लागि ९५ लाख ५ हजार, वडा नं ७ का लागि रु ८७ लाख ६५ हजार, वडा नं ८ का लागि रु ८६ लाख ८३ हजार, वडा नं ९ का लागि रु ८९ लाख ९८ हजार, वडा नं १० का लागि ९१ लाख २५ हजार, वडा नं ११ का लागि ९७ लाख ५८ हजार, वडा नं १२ का लागि रु ८९ लाख ९९ हजार, वडा नं १३ का लागि ९३ लाख ३३ हजार, वडा नं १४ का लागि ९२ लाख ५४ हजार, वडा नं १५ को लागि रु ८७ लाख ६७ हजार र वडा नं १६ को लागि रु ८७ लाख ६५ हजार बजेट विनियोजन गरिएको छ ।





