चितवन, असार ३०
चितवनको खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को तेस्रो तथा अन्तिम चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम हिजो शुक्रबार सम्पन्न गरेको छ ।
तेस्रो चौमासिकको कार्यक्रममा नगरवासीहरुले रासायनिक मलको सहज उपलब्धता, वडामा समान विकास, टोल विकास संस्थालाई जिम्मेवार बनाउनुपर्ने, शिक्षामा सुधार गर्नुपर्ने, विद्यार्थीलाई नैतिक शिक्षा दिनुपर्ने, दोहोरो राजस्व तिर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने, ठेलाजन्य व्यवसायलाई करको दायरामा ल्याउनुपर्ने, लम्पी स्किन रोग नियन्त्रण गर्नुपर्ने, विद्युत्को पोल मर्मत गर्नुपर्नेलगायतका विषयलाई प्राथमिकताका साथ उठाउनुभएको थियो ।
कार्यक्रममा सहभागीहरुको जिज्ञासा सुनिसकेपछि नगरप्रमुख शशिकुमार खनियाँले आफूहरु निर्वाचित भएर आएपछि शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता दिएर योजना निर्माण तथा कार्यान्वयन गरिरहेको बताउनुभयो । ‘भौतिक संरचनाको विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनमा हाम्रो ध्यान केन्द्रित छ’, प्रमुख खनियाँले भन्नुभयो, ‘नगरवासीको रायसुझावलाई आत्मसात् गछौं, सबै मिलेर नगरको विकासमा लागौँ ।’
प्रमुख खनियाँले बजारकेन्द्रित विकास भएको भन्ने सहभागीको जिज्ञासामा नगर गौरवका योजनाले सबै वडामा स्थान पाउने बताउनुभयो । ‘सबै वडालाई समान मह¤व दिएर काम गरेका छौँ’, उहाँले थप्नुभयो , ‘कुनै वडा वा भेगलाई बायस गरिँदैन, समान विकास गर्छौं जसको उदाहरण यसपटकको बजेटमा उल्लेख छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम शर्माले नगरपालिकाको वार्षिक आन्तरिक आम्दानी तथा अन्य शाखाको अन्तिम चौमासिकमा भएका प्रगति विवरण प्रस्तुत गनुभएको थियो ।
कार्यक्रममा उपप्रमुख कविता उप्रेती, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, टोल विकास संस्थाका प्रतिनिधि, उपभोक्ता समितिका प्रतिनिधि, सामाजिक अभियन्ताहरु, युवा, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।






