भरतपुर, साउन १
चितवनको भरतपुरमा स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न शनिबारे मेला सञ्चालन हुने भएको छ । चितवन उद्योग संघले स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनहरुको प्रर्वद्धन गर्ने उद्देश्यका साथ चितवन प्रदर्शनी केन्द्र परिसरमा मेला गर्न लागेको हो । यही मिति २०८० साउन ६ गतेदेखि प्रत्येक शनिबार बिहान ६:०० बजेदेखि ११:०० बजेसम्म प्रदर्शनी केन्द्र भरतपुरमा शनिबारे मेला आयोजना हुँदै छ । मेलाबाट स्थानीय उत्पादनको बजारीकरणलाई सहयोग मिल्ने प्रदर्शनीमा स्थानीय तहहरुको समन्वयमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनहरुको स्टल रहने संघले विज्ञप्ति प्रेषित गर्दै जनाएको छ ।
प्रदर्शनीमा ताजा फलफूल तथा तरकारी, घरेलु अचार, मह तथा भान्साका लागि चाहिने आवश्यक परिकारहरु, हस्तकलाका सामग्रीहरु, अण्डा, माछा तथा गेडागुडीहरु, चिया, कफी तथा हर्बल सामग्रीहरु र विभिन्न परिकारका खानाका स्टलहरु रहनेछन् । प्रदर्शनीमा स्टल राख्न चाहनेहरुको लागि प्रतिदिन प्रति स्टल एक हजार रुपैयाँ सहभागिता शुल्क लाग्नेछ ।
मेला स्थल आसपासमा निजी तथा सरकारी संस्थाहरुमा कार्यरत २० हजार भन्दा बढी जागिरे, स्थानीय टोल तथा छिमेकी पालिकाहरुका व्यक्तिहरु नै मेलाका मुख्य लक्षित ग्राहकका रुपमा रहनेछन् भने मेलामा राखिने विशेष परिकार तथा उत्पादनहरु जिल्ला बाहिर पठाउनका लागि समेत बिक्री गरिने लक्ष्य लिइएको छ ।
मेलामा अवलोकन गर्न आउने ग्राहकहरुको लागि निःशुल्क प्रवेशको व्यवस्थासमेत गरिएको मेलालाई ‘फार्मदेखि किचनसम्म’ अवधारणा अनुसार उत्पादक र उपभोक्ताहरुको माग बमोजिम आवश्यकता अनुसार परिस्कृत गर्दै नयाँ वस्तु तथा उत्पादनहरु सार्वजनिक गर्ने, खरिदकर्ता तथा विक्रेताको जमघट हुने र उद्यमीहरुको भेटघाट हुने उपयुक्त स्थलको रुपमा विकसित गरिने लक्ष्य लिइए संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।
उत्पादक र उपभोक्ताहरुलाई एउटै छानामुनी प्रत्यक्ष भेटघाट गराउने गरी आयोजना गर्न लागिएको यस मेलामा प्रत्येक दिन १००० भन्दा धेरै स्थानी खरिदकर्ताको उपस्थिति हुने अपेक्षा राखिएको छ ।





