काठमाडौं, साउन ५
आर्थिक वर्ष ०७९/८० मा चलचित्र विकास बोर्डबाट प्रदान गरिएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको छ।
कलेक्शनसँगै प्रदर्शन सुरू भएको मिति र टिकट बिक्री संख्यासहितको विवरण सार्वजनिक गरिएको हो। चलचित्र विकास बोर्डको मिति २०८०-०४-०२ को निर्णयअनुसार रिपोर्ट सार्वजनिक गरिएको हो।
प्रदर्शनरत दुई नेपाली चलचित्र ‘बगान’ र ‘जारी’ तथा दुई विदेशी चलचित्र ‘मिसन इम्पसिबल- डेड रेकनिङ भाग-१’ र ‘रेसिडेन्सियल इभल: डेथ आइल्यान्ड’ को गत आर्थिक वर्षको अन्तिम दिन २०८० असार ३१ सम्मको रिपोर्ट समावेश गरिएको छ।
गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी चलचित्र रिलिज भएका छन्। स्वदेशी चलचित्रहरूको २७ लाख १६ हजार २१७ थान टिकट बिक्रीसहित जम्मा ग्रस व्यापार ७६ करोड ७२ लाख ५७ हजार १ रुपैयाँ मात्र भएको छ।
गत आर्थिक वर्षमा ७८ वटा विदेशी चलचित्र नेपालमा प्रदर्शन भएका छन्। यी चलचित्रहरूको २५ लाख ८५ हजार ६०२ थान टिकट बिक्रीसहित जम्मा ग्रस व्यापार ७९ करोड ४३ लाख ४ हजार ७४८ रुपैयाँ ७० पैसा भएको छ।





