६ श्रावण २०८०, शनिबार ०९:३५
काठमाडौँ, साउन ६
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार इटली प्रस्थान गर्दै हुनुहुन्छ ।
नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ इटली जान लाग्नुभएको हो । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेसन्स फूड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
कार्यक्रम साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ । प्रधानमन्त्री दाहाल साउन ८ गते कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम छ । अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।





