काठमाडौं, साउन २५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र नागरिकका समस्या सहजीकरणका लागि खटिन पार्टी पङ्क्तिलाई सुसूचित गराएको छ ।
रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गर्दै र्यापिड एक्सन टिम (आरएटी) र पार्टी पङ्क्तिलाई बाढी पहिरो प्रकोपमा जनताको उद्धार गर्नका लागि स्थानीय निकाय र सरोकारवाला निकायसँग समन्वय र अनुमति लिन सूचना जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले हिजो मुग्लिन–नारायणगढ सडकखण्डमा रास्वपाको आरएटी टिमले कार्यालयबाट स्वीकृत नलिएको भन्दै सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्ला÷स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा मात्र उद्धारमा खटिनसक्ने जानकारी दिनुभएको छ ।
रास्वपाद्वारा जारी विज्ञप्तिले यस्ता कुनै पनि प्रकारका नागरिकका समस्या सहजीकरणका लागि स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिन सिङ्गो पार्टी पङ्क्तिलाई नै सुसूचित गराएको हो ।





