काठमाडौं, साउन २९
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बैंकर्स संघसँग बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई लयमा ल्याउने विषयमा छलफल गर्नुभएको छ ।
हिजो आइतबार मन्त्रालयमा बैंकर्स संघका पदाधिकारीसहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग बैंकको ब्याजदर कम गर्ने विषयमा छलफल गर्नुभएको हो । मन्त्री महतले बैंकका सिइओहरुसँग अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले पुर्याउनुपर्ने योदानको विषयमा जानकारी गराउनुभएको छ ।
बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रका समस्या समाधान गरी अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मनोबल माथि कसरी उठाउन सकिन्छ भन्ने विषयमा कुराकानी भएको बताउनुभयो । उहाँले पछिल्लो समय बैंकको ब्याजदर कम हुँदै गएपनि अझै कम कसरी गर्न सकिन्छ भन्ने विषयमा अर्थमन्त्री महतले चासो राख्नुभएको बताउनुभयो ।
अध्यक्ष केसीले पछिल्लो समय अर्थतन्त्रका केही सूचकहरुमा सुधार हुँदै गएको र बैंकहरुमा तरलता पनि केही सहज हुँदा समेत निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र चलायमान कसरी बनाउने विषयमा छलफल केन्द्रित भएको बताउनुभयो । उहाँले अर्थतन्त्रलाई बैंकिङ क्षेत्रले कसरी सकारात्मक बाटोमा लैजाने भुमिका खेल्नुपर्ने देखिएको भन्दै सबैलाई सकारात्मक सन्देश दिन आवश्यक रहेको बताउनुभयो ।





