भरतपुर, भाद्र ७
चितवनका नयाँ प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई चितवनमा स्वागत गरिएको छ ।
उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा चितवनका नयाँ प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले विगत लामो समयदेखि उद्योग वाणिज्य संघ–चितवनको सम्बन्ध जिल्ला प्रशासन कार्यालयसँग सुमधुर रहदै आएको बताउदै आगामी दिनहरूमा पनि सम्बन्ध अझ बढी प्रगाढ रहने अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा स्वागत गर्नुहुँदै अध्यक्ष श्रेष्ठले संघको सङ्क्षिप्त जानकारी दिंदै चितवन जिल्लाको आर्थिक समाजिक एवं समग्र विकासका लागि जिल्ला प्रशासन कार्यालयसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले नवआगन्तुक जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारीलाई स्वागत गर्दै उहाँले विगत देखि चितवन जिल्लाका सरकारी निकायसँग भएको सुमधुर सम्बन्धका बारेमा बताउँदै उहाँले यस जिल्लाको शान्ति सुरक्षा एवम् आर्थिक सामाजिक विकासमा सधै सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष रमेशकुमार पियाले नव आगन्तुक प्रमुख जिल्ला अधिकारीलाई कार्यकाल सफलताको शुभकामना दिँदै उहाँले उद्योग वाणिज्य संघ–चितवनको विगतदेखि वर्तमानसम्मको इतिहासका बारेमा जानकारी गराउँदै उहाँले संघ व्यवसायीहरूको संस्था भएता पनि सामाजिक उत्तरदायित्वको कार्यमा निरन्तर लागिरहने बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले चितवन आर्थिक सामाजिक एवम् रणनीतिक हिसावले महत्वपूर्ण जिल्ला भएको बताउँदै उहाँले उद्योगी व्यापारीको समस्या समधान गर्नका साथै निजी क्षेत्रको उत्थानमा सदैव सहकार्य गर्न तयार रहेको बताउदै, उहाँले चितवन जिल्ला पर्यटकीय हिसावले नेपालकै पहिलो हुने विशेषता रहेको बताउनु भयो ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष राजन गौतम, संघका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगायत ३५ जनाको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सर्वत्र खबरलाई जानकारी दिनुभयो ।
संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको उक्त स्वागत कार्यक्रममा संघका कार्यकारी निर्देशक निलबहादुर केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।





