काठमाडौँ, असोज ५
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले हृयदय रोगको उपचार र रगत निःशुल्क तथा क्यान्सर रोगको उपचारका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने गरी विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकीकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले विपन्नको उपचारका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको भए पनि व्यापक प्रचार–प्रसारको कमीले जनमानसमा पुग्न नसकेको बताउनुभएको छ । उहाँले हरेक अस्पतालले प्रदान गर्ने सेवा र सुविधाका बारेमा सूचनापाटीमा लेखेर सबैलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार निःशुल्क रगत उपलब्ध हुने बागमती प्रदेश अन्तर्गतका १३ वटा अस्पताल र अन्य अस्पताल रहेका छन् । अन्य अस्पतालहरुमा पाटन अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल काभ्रे, कान्ति बाल अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर रहेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा रहेका छन् ।
सो अवसरमा बागमती प्रदेशले नेपाल रेडक्रससँग निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी सम्झौता आदान–प्रदान गरेको छ । सहिद गङ्गालाल हृदयरोग प्रतिष्ठानसँग मुटुरोगको उपचार उपलब्ध गराउन, भक्तपुर क्यान्सर अस्पतालसँग क्यान्सर रोगको उपचार उपलब्ध गराउनेसम्बन्धी सम्झौता आदान–प्रदान गरेको छ ।
यसैगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले केन्द्रीय मन्त्रालयले गरे जस्तै विपन्न र गरिबको सहज स्वास्थ्योपचारका क्षेत्रमा गरिरहेका काम प्रशंसनीय रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफ्ना सबै अस्पताल र प्रतिष्ठानमा जनरल शय्या निःशुल्क गर्ने निर्णय गरेपछि बागमती प्रदेशलाई पनि विपन्नका लागि प्रदेश मातहतका अस्पतालका शय्या निःशुल्क गर्न सल्लाह दियौँ । बागमती प्रदेशका स्वास्थ्यमन्त्रीज्यूले निर्णय गरेर साथ दिनुभयो ।”
विपन्न जनतालाई सहज उपचार उपलब्ध गराउने अभियानमा बागमती प्रदेशले क्यान्सरका बिरामीलाई केन्द्र सरकारले दिने प्रतिव्यक्ति रु एक लाख सहुलियतमा थप रु ५० हजार उपलब्ध गराइरहेको, हृदयरोगका बिरामीलाई रु एक लाखमा थप गरेर रु एक लाख १० हजार उपलब्ध गराउने काम प्रशंसनीय रहेको स्वास्थ्यमन्त्री बस्नेतले बताउनु भयो ।







