भरतपुर, असोज २८
साहित्यकार कल्पना पौडेल ‘जिज्ञासु’ द्वारा लिखित कथासङ्ग्रह ‘कचहरी’ को परिचर्चा गरिएको छ । भरतपुरस्थित फोर सिजन पार्टी प्यालेसमा आज आइतबार कार्यक्रम गरिएको हो ।
विश्व नेपाली साहित्य महासंघ चितवन शाखा र लायन्स क्लब अफ चितवन वाङ्मयले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा प्राडा केशवराज चालिसेले कृतिको समीक्षात्मक टिप्पणी राख्नुभएको थियो ।
पुस्तकमा समावेश भएका कथाहरूले हाम्रै परिवेशलाई सम्बोधन गरेको चालिसेले बताउनुभयो । `सामाजिक विषयमा लेखिएका कथाहरू सङ्ग्रहमा छन् । अधिकांश कथामा गरिबीलाई चित्रण गरिएको छ । नारी विद्रोहलाईलाई कथाकारले शालीनतापूर्वक कथामा सजाउनुभएको छ ।´, चालिसेले भन्नुभयो ।
त्यसैगरी हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीले गजल र मुक्तक हुँदै कथा लेखनमा आउनुभएकी पौडेलका कथाहरू समाजमा हामीले देखेका भोगेका विषयवस्तुहरूको अभिलेख भएको बताउनुभयो । सरल भाषामा लेखिएका कथाहरूले सामाजिक जिम्मेवारी बहन गरेको पनि अधिकारीले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेशनल डिष्टिक्ट ३२५ आर नेपालका फस्ट भाइस डिष्टिक्ट गभर्नर एमजेएफ लायन दिनानाथ न्यौपाने, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानकी सदस्य विष्णु तिवारी उषा र प्राज्ञसभा सदस्य रामहरि श्रेष्ठ, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले पनि पौडेलको कथाका सन्दर्भमा रहेर टिप्पणी राख्नुभएको थियो ।
महासंघ चितवन शाखाकी अध्यक्ष हरिप्रिया रिजाल र चितवन वाङ्मयकी अध्यक्ष लीला राना मास्कीले अध्यक्षता गरेको कार्यक्रमलाई वाङ्मयका सचिव राजेन्द्र पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा लायन्स क्लबका विभिन्न समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

विद्या विकास पब्लिकेसन्सले प्रकाशन गरेको पुस्तकमा १५ वटा कथाहरू समावेश छन् । पौडेलको यो पाँचौँ कृति हो । यसअघि `भावनाका भेलहरू´ र `जून हराएको रात´ गजलसङ्ग्रह `तथा विद्रोहका तरंग´ र `कल्पदीप´ मुक्तकसङ्ग्रह प्रकाशित छन् । बागलुङमा जन्मिनुभएकी पौडेलको अहिलेको बसोबास बाँकेमा छ ।






