चितवन, कार्तिक १६
भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पत्रकारहरुसँग छलफल गरेको छ । महानगर कार्यालयमा एक कार्यक्रमको आयोजना गरी छलफल गरिएको हो ।
सो अवसरमा महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको तयारी अघि बढेको जानकारी दिनुभयो । प्रमुखको संयोजकत्वमा २ हजार २४ सदस्यीय मूल समिति बन्दै गरेको सो अवसरमा जानकारी गराईएको थियो । यस्तै उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा कार्यसम्पादन समिति र २८ वटा उपसमिति निर्माण गरेर काम अघि बढाईएको उहाँले बताउनुभयो । भ्रमण वर्षमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकका लागि बाघ देखाउने गरी तयारी भईरहेको छ । यसैगरी दियालो बंगला क्षेत्र पर्यटकको लागि खुल्ला गर्न पहल भईरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रचार गरी भ्रमण वर्षलाई सफल बनाउन सहयोग गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले हालसम्म तयारीका काम धेरै अघि बढेको भन्दै आर्थिक रुपमा अप्ठ्यारो अवस्थामा पनि अर्थतन्त्र चलायमान गराउने गरी कार्यक्रम गर्न लागिएको बताउनुभयो ।
सोही अवसरमा हालसम्मका तयारीका बारेमा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र पर्यटन विज्ञ डा.विश्व सुवेदीले जानकारी गराउनु भएको थियो । भ्रमण वर्षका लागि महानगरपालिकाले रु.३ करोड ७० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले र संघीय सरकारसँग पनि बजेट माग गरिएको सो अवसरमा जानकारी गराईयो ।
कार्यक्रमका अवसरमा पत्रकारहरुसँग भ्रमण वर्ष सम्पन्न गर्न आवश्यक सुझाव लिईएको छ।
भरतपुर महानगरपालिकाको एकातर्फको भूभाग चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । महानगरबाट दुई नाका मार्फत् निकुञ्ज प्रवेश गर्न सकिन्छ । यसका अतिरिक्त सूर्याेदय अवलोकनका लागि चौकीडाँडा र सूर्यास्तका लागि गोलाघाट यही महानगरमा पर्दछ । महानगरले २९ वटा पर्यटकीय गन्तव्य पहिचान गरेको छ । ती मध्ये सात वटा मुख्य पर्यटकीय गन्तव्य हुन् । भरतपुर महानगरपालिका भित्र हात्ति सफारी, जिप सफारी, नारायणी नदीमा मिनि पानी जहाजको, टे«किङ तथा विभिन्न सांस्कृतिक गतिविधि हेर्न सकिन्छ ।





