चितवन, कार्तिक २१
भरतपुर महानगरपालिकाले तिहारलक्षित बजार अनुगमन सुरु गरेको छ । भरतपुर महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले हिजो देखि तिहारलक्षित बजार अनुगमन सुरु गरेको हो ।
हिजो सोमबारको अनुगमनमा नारायणगढका केही मिठाइँ पसलहरु भने गुणस्तरहिन र दुर्गन्धित रहेको पाइएको हुँदा सावधानी अपनाउन आग्रह गरिएको छ । ती पसलहरुलाई सरसफाइँमा ध्यान दिन, सावधानी अपनाउन, कालोबजारी नगर्न र उपभोक्ताहरुलाइ जथाभावी रुपमा नक्कली सामान नबेच्न पनि समितिले ब्यबसायीहरुसँग अनुरोध गरेको छ । केही मिठाइ पसलहरुलाइ भने सरसफाइ गरेर मात्रै पसल सन्चालन गर्न समितिले निर्देशन समेत दिएको छ ।
यदि महानगरको अनुरोधलाई आनाकानी गरेमा वा आफुखुसी बस्तु बिक्रीबितरण गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि समितिले जनाएको छ ।
अनुगमन टोलीले नारायणगढ क्षेत्रमा रहेका केही एग्रोभेटहरुमा पनि छड्के अनुगमन गरेको छ । अनुगमनमा एग्रो र भेट एकै स्थानमा राखेको, बिषादीलाई जथाभावी रुपमा राखिएको, म्याद गुज्रेका एग्रो र भेटका सामाग्रीहरु पनि एकै ठाउँमा राखिएको भेटिएको छ ।
अनुगमनमा समितिका सदस्य गोपाल दराइ, वडा न ३ का अध्यक्ष बिकास थापा,सदस्य माधब अर्याल,पशु चिकित्सक तथा मत्स्य विज्ञहरु, महानगरपालिका विज्ञ सल्लाहकार कृष्ण बगााले, पत्रकारहरु, नगर प्रहरी लगायतको उपस्थिति रहेको थियोे ।

भरतपुर महानगरपालिकाले गर्दै आइरहेको नियमित दैनिक स्वच्छ बजार अनुगमनले ब्यवसायी र उपभोक्ता दुबैलाई प्रत्यक्ष रुपमा फाइदा पुगेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरीक्षक बन्दना पन्तले जानकारी दिनुभयो । ‘ब्यवसायीहरु सचेत र सजग भएका छन् भने उपभोक्ताहरु पनि कस्तो सामान प्रयोग गर्ने,उत्पादन मिति र समाप्ति मिति,खान योग्य÷ अयोग्य लगाएतका थुप्रै विषय बस्तुहरुसँग जानकार भएका छन् ।’ ‘यसलाई महानगरको महत्वपूर्ण उपलब्धि र ठूलो सम्पत्तिको रुपमा लिनु पर्दछ’, पन्तले भन्नुभयो ।
यस्तो अनुगमन नयाँ नभएर बिगत कै निरन्तरता भएको उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले जानकारी दिनुभयो । स्वयं उपभोक्ता सचेत नभएसम्म बजार अनुगमनले मात्रै बजार आमउपभोक्ताले चाहे जस्तो सुधार गर्न नसकिने उहाँको भनाई छ ।
अनुगमनका संयोजक तथा महानगरका उपमेयर चित्रसेन अधिकारीले तिहारमा बढी खपत हुने मिठाई, बिधुतीय सामान, भाडाकुडा र भाइमसलामा केन्द्रित गरेर बजार अनुगमन सुरु गरिएको बताउनुभयो । ‘तिहारको मुखमा कुनै पनि उपभोक्ता नक्कली र अखाद्य बस्तु खरिदमा नठगिउन भन्ने हेतुले हामीले अनुगमनलाइ कडाइका साथ लागू गरेका हौ’ उहाँले भन्नुभयो । महानगरको यो अनुगमन तिहार तथा छठ पर्व सम्म यथावत रुपमा कायम रहने उहाँले जानकारी दिनुभयो ।






