भरतपुर, मंसिर ७
आन्तरिक राजस्व कार्यालय भरतपुरको आयोजनामा मंसिर १ गतेदेखि सञ्चालन भएको बाह्रौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८० को एक कार्यक्रमका बीच समापन गरिएको छ ।
कर सप्ताह २०८० का अवसरमा उत्कृष्ट तीन करदातालाई सम्मान गरिएको हो । आज सम्मानित हुनेमा सेवातर्फ एनपिआई नारायणी सामुदायिक हस्पिटल, उद्योगमा एपोलो पेन्ट्स प्रालि र व्यापारतर्फ ग्याप मार्केटिङ छन् ।
कर दिवसका अवसरमा १२औँ पटक सम्मानित गर्दै गर्दा एनपिआई नारायणी सामुदायिक अस्पताल नवौँपटक सम्मानित भएको हो ।
मङ्सिर १ गतेदेखि सुरु भएको कर सप्ताहका क्रममा आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट खेलाडी पनि सम्मानित भएका छन् । त्यस अवसरमा उत्कृष्ट कर्मचारीको रूपमा सन्ध्या पौडेल र विजय तिवारीलाई पनि सम्मान गरिएको हो ।
प्रमुख कर अधिकृत निरन भट्टराईले कर लिने दिने बानीको विकास गर्न सबैलाई अनुरोध गर्नुभयो । लक्ष्यअनुसार कर सङ्कलनका लागि अनुगमन तीव्रताका साथ गर्नुपर्ने भन्दै उहाँले यसमा साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग सङ्घ चितवनका अध्यक्ष सूर्य न्यौपाने, एक्यानका जिल्ला अध्यक्ष सन्तोष रेग्मी, अडानका अध्यक्ष प्रदीपराज वस्ती सम्मानित भएको संस्था नारायणी सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
प्रमुख कर अधिकृत भट्टराई, कर अधिकृत शिवप्रसाद ढुङ्गाना र विमल पौडेलले कर सङ्कलनको अवस्थाका बारेमा जानकारी दिँदै सङ्कलनमा सहयोगको आग्रह गर्नुभएको थियो ।






