चितवन, मंसिर ९
नेवाः मिसा दबू, गैंडाकोट नगर समितिको आयोजनामा गैंडाकोटमा सामुहिक ईही यज्ञ २०८० (सामुहिक बेल विवाह) हुने भएको छ । शनिबार गैंडाकोट २ को नारायणी नदी किनारमा रहेको श्री नारायणी नवदुर्गा मन्दिरमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी गरार्ईएको हो ।
गैंडाकोट २ मा अवस्थित श्रीराम पार्टी प्यालेसमा यहि मंसिर १२ र १३ गते सामुहिक ईही यज्ञ २०८० (सामुहिक बेल विवाह) हुन लागिरहेको नेवाः मिसा दबू, गैंडाकोट नगर समितिकी अध्यक्ष सीता श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा नेवार समुदायको परम्परा अनुसार गैंडाकोट नगर भित्रका २५ जना भन्दा बढी नेवारी किशोरीहरुको सामुहिक बेल विवाह हुँदैछ । नेवारी परम्परा अनुसार रजस्वाला हुनु भन्दा अगाडी नै बिजोर वर्ष पारि नेवारी कन्याहरुको बेलसँग र सुर्य भगवानसँग विवाह गर्ने परम्परा रहेको छ । तत्पश्चात मात्र श्रीमानसँग विवाह गर्ने प्रचलन रहेको हुँदा नेवारी कन्याहरुको जीवनकालमा तीन पटक सम्म विवाह हुने धार्मिक मान्यता र परम्परा रहेको छ । यस्तो विवाह गर्नाले कथमकदाचित श्रीमानको मृत्यु भएमा पनि ततपश्चात महिलाहरुले रातो बस्त्र धारण गर्न पाउने नेवार समुदायका अगुवाहरुले बताउँछन् ।

कार्यक्रमको सहजीकरण गर्नुहुँदै समितिकी सचिब शर्मिला श्रेष्ठ सँगै नेवाः पुच गैंडाकोटका संस्थापक अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठले पनि बेल विवाहको बारेमा थप प्रष्ट पार्नुभएको हो । नेवार समुदायले किन बेल विवाह गर्छन् र यसको धार्मिक आस्था र महत्व के रहेको छ भनि थप प्रष्टाउनुभएको थियो ।
नेवाः मिसा दबू, गैंडाकोट नगर समितिको वार्षिक उत्सबको विशेष अवसर पनि पारी केक काटी नेवार समुदायका अगुवा बीच वार्षिक उत्सब पनि मनाईएको हो । वार्षिक उत्सबसँगै नेवाः मिसा दबू, गैंडाकोट नगर समितिले गर्न लागेको सामुहिक ईही यज्ञ २०८० (सामुहिक बेल विवाह) कार्यक्रमको पनि जानकारी गराईएको थियो ।






