चितवन, मंसिर १०
चितवनको माडीमा नेपालकै अग्लाे चक्रशीला (शालिग्राम) स्थापना गरिएको छ। पर्वतको कुश्माबाट ल्याइएको चक्रशीला माडीको खैरहनीमा रहेकाे चक्रतीर्थ धाममा राखिएको हाे ।
१२ फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशीला कुश्मा नगरपालिका–१ सहश्रधारामा रहेकाे कालीगण्डकी नदीको किनारमा नै कुँदेर ल्याइएको नेपाल ललितकला प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख एवं माडीका स्थानीय मूर्तिकार दिनेश्वर महतोले बताउनुभयो ।
याे शिला मङ्सिर ७ गते हरिबोधनी एकादशी पर्वका दिन प्राणप्रतिष्ठासहित विष्णुहरिहर मन्दिर परिसरमा अनावरण गरिएको चक्रतीर्थ धाम विकास समितिका अध्यक्ष भागीरथ बस्यालले बताउनुभयो । उहाँले पर्वतबाट रथयात्रामार्फत चक्रशीला माडी ल्याइएको बताउनुभयो । नेपालमा कालीगण्डकी नदी र माडीको मगुई खोलामा शालिग्राम पाइन्छ । उहाँले चक्रशीला स्थापनापछि हेर्न आउने धार्मिक पर्यटकको सङ्ख्या बढेको बताउनुभयो ।





