चितवन, मंसिर १५
चितवन राष्ट्रिय निकुञ्जमा दुई हप्ता अगाडि दुईवटा गैँडा मारेको आरोपमा पक्राउ परेका आठ जना आरोपीलाई चितवन राष्ट्रिय निकुञ्जले हिजो बिहीवार सार्वजनिक गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले आरोपीमध्ये ६ जनालाई मङ्सिर ९ गते तथा दुई जनालाई मङ्सिर ११ गते चितवनको राप्ती नगरपालिकाबाट पक्राउ गरेको थियो । पक्राउ परेका आठै जनालाई मङ्सिर ९ गतेबाट लागू हुने गरी सात दिनको म्याद थप गरी निकुञ्ज कार्यालयले पत्रकार सम्मेलनद्वारा सार्बजनिक गरेको हो ।
निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारेर गैँडाको खाग बिक्रीका लागि लैजाँदै गर्दा खाग सहित उनीहरुलाई पक्राउ गरिएको हो । अन्दाजी १८ र ६ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो । गैँडा मृत भेटिएको १० दिन नबित्दै टोलीले मकवानपुर र चितवनका आठै जनालाई चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ र ६ बाट पक्राउ गरेको हो ।
निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगतरूपमा अध्ययन गरेर यही मङ्सिर १२ गते विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनअनुसार बस्तीबाट नजिकैको क्षेत्रफलमा गैँडा मारिएको भए पनि त्यहाँ मानिसको आवतजावत नहुने तथा पछिल्लो सात दिनदेखि सेनाको गस्ती टोलीसमेत नपुगेको देखिएको महानिर्देशक ढुङ्गानाले बताउनुभयो । सात वटा खाल्डो खनेर गैँडालाई दुई खाल्डोमा पारेर मारेको प्रतिवेदनले देखाएको उहाँले बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा रहेका छन् । पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो । कतिपय वर्षमा निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो । गत वर्ष दुईवटा गैँडा सिकारीले मारेका निकुञ्जले जनाएको छ ।





