१५ मंसिर २०८०, शुक्रबार २०:०७
चितवन, मंसिर १५
सन् २०२३ को ११ महिनामा चितवनमा ७८ जना एचआइभीबाट सङ्क्रमित भएका पुष्टि भएको छ । छत्तीसौँ विश्व एड्स दिवसका अवसरमा एड्स हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले चितवनमा पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार चार सय २५ जनाको परीक्षण गर्दा ७८ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको हो ।
परीक्षण गरिएकामध्ये ४० जना पुरुष, ३३ जना महिला, तीन जना तेस्रो लिङ्गी र दुई जना बालबालिका छन् । सङ्क्रमण पुष्टि भएकामा चितवनका ३६ जना र बाहिरी जिल्लाका ४२ जना छन् ।
जिल्लामा अहिलेसम्म दुई हजार तीन सय १९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार एक हजार दुई सय १० जना पुरुष, नौ सय २३ जना महिला, २४ जना तेस्रो लिङेगी र एक सय ६२ जना बालबालिका छन् ।





