चितवन, मंसिर २९
पर्यटकीय गन्तव्य सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० हुने भएको छ । चितवन हात्ती महोत्सवलाई रूपान्तरण गर्दै पुष १० देखि १४ गतेसम्म हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो ।
क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुराँ एण्ड बार एशोसिएसन नेपालको सहआयोजनामा चित्रसारीको चौरमा महोत्सव गर्न लागेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
२०७६ सालदेखि चितवन हात्ती महोत्सव हुन सकेको थिएन् । २०८० साल सुरु भएपछि सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएको र पर्यटकलाई थप आकर्षित गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिनुभयो ।
विगतको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलो हटाइएको छ । पशु अधिकारकर्मीहरूले हात्तीलाई सास्ती दिएको भन्दै प्रश्न उठाउन थालेपछि व्यवसायीहरूले उक्त तीन प्रतियोगिता हटाइएको हो । पाँच दिन सम्म सञ्चालन हुने उक्त महोत्सव अन्तर्गत हात्ती श्रृगार प्रतियोगिता, हात्ती वनभोज र डुङा दौड प्रतियोगितालाई यथावत् राखिएको छ । महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौती सम्बन्धी अन्तर्क्रिया कार्यक्रम राखिएको छ ।
चितवनको पर्यटनलाई माथि उकास्न स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नु पर्ने भूमिकाको बारेमा छलफल गरी दायित्व बोध गराउन अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक ओमप्रकाश पाण्डेले जानकारी दिनुभयो । महोत्सवमा हात्तीको दिनचर्या बारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसंग बि–टु–बी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरूको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रबन्धनात्मक कार्यक्रम गरिने कार्यक्रम संयोजक पाण्डेले बताउनु भयो ।
महोत्सवको उद्घाटन समारोहमा संरक्षण र पर्यटन विकासका योगदान दिएका अग्रज, उत्कृष्ट नेचरगाइड, संरक्षणकर्मी, माउते, डुङा चालक, जीप सफारी चालक तथा सीप र कलाप्रेमीहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो । सफारी पर्यटनका हिसाबले परिचित सौराहालाई थप उचाइमा लैजान पर्यटन महोत्सवको रुपमा अगाडि बढाउन थालिएको उहाँको भनाई छ ।





