काठमाडौं, माघ ६
निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रहरू सातै प्रदेशका निर्वाचन अधिकृतहरूको कार्यालयमा पठाएको छ । आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्डबमोजिमका मतपत्र छपाई सकेर सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पठाएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था अनुसार प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छापेको आयोगले जनाएको छ ।





