चितवन, माघ २०
चितवनको पर्यटकीय नगरी सौराहामा माघ २८ गते देखि फागुन ३ गते सम्म १८औं सौराहा फूड फेस्टिबल हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल रेवान सौराहा चितवनको आयोजना सौराहाको मुख्य बजार नजिक फेस्टिबल हुने भएको हो ।
सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाउने तयारी गरिएको उहाँले बताउनुभयो । सौराहा फूड फेस्टिवलकोे आफ्नै गौरवमय ईतिहास छ उहाँले भन्नुभयो, हामीले हरेक वर्ष प्रणय दिवसको अवसर पारेर फूड फेस्टिवल आयोजना गर्दै आइरहेका छौं । सौराहा सहित चितवनको पर्यटन प्रवर्द्धधन गर्ने उद्देश्यले आयोजना गरिदै आएको फूड फेस्टिवलले जिल्लाको समग्र पर्यटन विकासमा योगदान दिँदै आएको उहाँको भनाई छ ।
फेस्टिवलमा सञ्चालन हुने पर्यटन प्रवर्द्धनात्मक गतिविधिले कालन्तर सम्म पर्यटक भित्र्याउन टेवा पुग्ने अध्यक्ष गिरीले बताउनुभयो । विगत देखि नै विभिन्न खालका विषम परिस्थितिमा पनि फेस्टिबललाई निरन्तरता दिंदै आइरहेका भन्दै उहाँले देशमा भएको सशस्त्र द्घन्द, बन्द हडताल, भुकम्पको महामारी र अघोषित नाकावन्दी जस्ता असहज परिस्थितिहरुमा यस क्षेत्रमा रहेका पर्यटन व्यवसायमा आवद्ध संघसंस्थाहरु तथा स्थानीय जनसमुदायको साथ र सहयोगले फेस्टिबलले अपेक्षाकृत सफलता हासिल गर्दैै आएको उहाँले बताउनुभयो ।
कोराना महामारी पछि सौराहा सहित चितवनको पर्यटन पुरानै अवस्थामा फर्किने क्रममा रहेको छ । आर्थिक वर्ष २०७९।८० मा करिव तीन लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गरेका छन् । चालु आवमा करिव एक लाख पचास हजार पर्यटकले निकुञ्ज अवलोकन गरिसकेको तथ्याङ्क छ । सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरि फेस्टिवलका गतिविधिलाई अगाडि बढाइएको फेस्टिबका संयोजक सुर्यबहादुर रिमालले बताउनुभयो ।
समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
पाँच दिन सम्म चल्ने फेस्टिबलमा बहु जातजातीहरुको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकार तथा दि एक्सीस ब्याण्डको साँगीतिक प्रस्तुती, स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिका स्तरीय भलिवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुती रहने छ ।
दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको रेवानका पूर्व अध्यक्ष सुवासचन्द्र गौतममले जानकारी दिनुभयो ।
रत्ननगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष सजना महतो प्रमुख अतिथि रहेको कार्यक्रम रेवानका महासचिव नविन नेपालले सञ्चालन गर्नुभएको हो ।
पत्रकार सम्मेलनमा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, वडा नं ६ का वडाध्यक्ष किरण चौधरी, वडा नं ८ का वडाध्यक्ष कृष्ण चौधरी, रेवान महिला समुहकी अध्यक्ष लक्ष्मी विडारी, पूर्व वडाध्यक्ष तथा रेवानका पूर्वअध्यक्षहरु वलराम दाहाल, राजन भट्ट, क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरी लगायत लगायतको सहभागिता रहेको थियो ।
रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।





