चितवन, माघ २६
चितवनको भरतपुर वडा नम्बर- ७ तेह्रसालस्थित अङ्कुरम् एकेडेमीले अभिभावक दिवसका अवसरमा विविध कार्यक्रम गरि मनाएको छ । माघ २३ र २४ गते एकेडेमी परिसरमा संगीत, कला र समसामयिक विषयमा केन्द्रित रहेर शैक्षिक र सांस्कृतिक कार्यक्रम भएको हो ।
कार्यक्रमको पहिलो दिन कक्षा १ देखि ५ सम्मका विद्यार्थीले आफ्नो कला प्रस्तुत गरेका थिए । विभिन्न जातजातिका पोशाक र संस्कृतिमा आधारित रहेर विद्यार्थीले प्रस्तुति दिए । पहिलो दिन नै हाम्रो संस्कृति हाम्रो गौरव शीर्षकमा छलफल कार्यक्रम पनि गरिएको हो । अङ्कुरम् एकेडेमी र भारत महाराष्ट्रको सञ्जयगोदावत इन्टरनेशनल स्कुलका विद्यार्थीहरूले आफ्नोआफ्नो देशको सांस्कृतिक महत्त्व बारेमा छलफल गरेका थिए । कार्यक्रममा शिक्षा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल सुवेदी प्रमुख अतिथि रहनुभएको हो भने अभिभावकका तर्फबाट डाक्टर अनिलविक्रम कार्कीले मन्तव्य राख्नुभएको हो ।
कार्यक्रमको दोस्रो दिन एकेडमी परिसरमा कक्षा ६ देखि १२ का विद्यार्थीले विविध प्रस्तुति दिए । दोस्रो दिन संघीय व्यवस्थापिका संसदको अभ्यास अन्तर्गत नमूना छलफल कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत सार्वजनिक महत्त्वका विषयमा सांसदहरूले सभामुखसमक्ष विचार र धारणा पेश गरेका थिए ।
संसदको अभ्यास अन्तर्गत सांसदहरूले नागरिकले थेग्नै नसक्ने गरि सरकारले खाद्यान्नको मूल्यबृद्धि गरेकोमा पनि आपत्ति जनाएका थिए । त्यसैगरी बुबाको उपचार खर्च जुटाउन नसकेर छोराले आत्मदाह गरेको, २१ औँ सताब्दिमा पनि जातीय छुवाछूत कायम रहेको, एउटै विद्यालयमा नेपाली माध्यम निशुल्क र अङ्ग्रेजी माध्यम सशुल्क गरेर शिक्षालाई व्यापारका रूपमा लैजाँदा सरकार मौन बसेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका थिए ।
संसदीय अभ्यासको यो खालको कार्यक्रम विद्यार्थीका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको अभिभावक डाक्टर भोजराज अधिकारीले बताउनुभयो । अङ्कुरम् एकेडमीले विद्यार्थीलाई किताबको ज्ञान मात्रै नभएर व्यवहारिक ज्ञानका लागि पनि सहजीकरण गरेको डाक्टर अधिकारीले बताउनुभयो ।

दोस्रो दिनको कार्यक्रममा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरका डिन प्राडा होमबहादुर बस्नेत प्रमुख अतिथि रहनुभएको हो, प्रमुख अतिथि बस्नेतले अङ्कुरम् एकेडेमीका गतिविधिहरू रचनात्मक, सिर्जनात्मक र व्यवहारिक भएको बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नमा अङ्कुरम् परिवारलाई निरन्तरता दिन आग्रह गनुभयो ।

कार्यक्रममा विद्यालयका निर्देशक नवराज पौडेल, नैम चौधरी, प्राचार्य सुमन पौडेल, सह प्राचार्य ओमराज मैनालीलगायतले मन्तव्य राख्नुभएको थियो ।







