चितवन, माघ २७
नेपाली कांग्रेसको संगठन विभाग प्रमुख जगत बरामले चेपाङ समुदायलाई अधिकार दिनुपर्ने बताउनुभएको छ ।
नेपाल लोकतन्त्रवादी चेपाङ संघको केन्द्रीय कार्यसमिति विस्तार तथा बागमती कार्यसमिति सपथ ग्रहण कार्यक्रममा बोल्दै बरामले संविधानको कार्यान्वयन गरेर चेपाङ समुदायलाई अधिकार दिनुपर्ने बताउनुभयो ।
उहाँले कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै संविधान कार्यान्वयन गर्ने दायित्व पनि कांग्रेसमा बढी रहेको बताउनुभयो ।
नेपाल लोकतन्त्रवादी चेपाङ संघका केन्द्रीय अध्यक्ष सन्तबहादुर चेपाङले चेपाङ समुदायको उत्थानका लागि चेपाङ, चिउरी र चमेरो कार्यक्रम तत्काल कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । चेपाङ समुदायको हक हितका लागि संघका सबै स्तरका कार्यसमितिले सक्रियपूर्वक काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार चितवन, मकवानपुर र धादिङ चेपाङ समुदायको प्रमुख बासस्थान भएको जिल्ला हो । २०७८ को जनगणना अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् भने ३१ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ ।
यसैबीच, नेपाल लोकतन्त्रवादी चेपाङ संघको केन्द्रीय कार्यसमितिमा १३ जना सदस्य थपिएका छन् । नियुक्त भएका सबै जनाले हिजो शुक्रवार नै सपथ ग्रहण गरेका हुन् । त्यस्तै, संघको बागमती प्रदेशको अध्यक्षमा खेम चेपाङ नियुक्त हुनुभएको छ भने पदाधिकारीमा उहाँसहित छ जना पुगेको छ । संघको चितवन अध्यक्षमा गोविन्द चेपाङ र मकवानपुर अध्यक्षमा महेशकुमार चेपाङ नियुक्त हुनुभएको छ।






