चितवन, फागुन २
चितवनको भरतपुरमा ट्राफिक सप्ताह २०८० भव्यताका साथ सम्पन्न भएको छ ।जिल्लामा दुर्घटना न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम, प्रशिक्षण, सवारी साधनको भाडादर तथा आरक्षण सिटको अनुगमन, चालक सहचालक प्रशिक्षण, सिट क्षमताभन्दा बढी यात्रु राखेकोबारे अनुगमन, चालकको स्वास्थ्य परीक्षण, रक्तदान तथा दीप प्रज्ज्वलन गरि ट्राफिक सप्ताह सम्पन्न भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सञ्चालन गरेको बागमती प्रदेशस्तरीय ट्राफिक सप्ताह समापन कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीले चालु आवको ६ महिनाको अवधिमा चितवनमा दुई सय २३ वटा दुर्घटना भएकोमा ५७ जनाको ज्यान गएको बताउनुभयो । उहाँकाअनुसार अघिल्लो वर्ष जिल्लामा जम्मा ३०३ वटा दुर्घटना हुँदा ७८ जनाको ज्यान गएको थियो । सडकको अवस्था तथा तीव्र गतिका कारण सवारीसाधनहरु दुर्घटनामा पर्ने गरेको भन्दै सुवेदीले चालक सचेत भएको अवस्थामा दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले स्वरुप परिवर्तन गरी चर्को आवाज बनाउने र पड्काउँदै हिँड्ने मोटरसाइकललाई प्रहरीले कडा निगरानीमा राखेको बताउनुभयो । स्वरुप परिवर्तन गर्दै हिँड्ने मोटरसाइकललाई प्रहरीले पक्राउ गरी जरिवाना तिराउने गरेको भण्डारीको भनाइ छ । सवारीसाधन चलाउँदा मादक पदार्थ सेवन गरेको पाइएकाले यसको नियन्त्रणका लागि कडाइका साथ संयुक्तरुपमा ट्राफिक परीक्षण हुने गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक शिक्षा अनिवार्य भएको बताउनुभएको छ । कारबाहीले मात्रै ट्राफिक व्यवस्थापन गर्न नसकिने भन्दै यसमा सामूहिक प्रतिबद्धता आवश्यक रहेको उहाँले बताउनुभयो । वर्षमा सात दिनमात्रै ट्राफिक सप्ताह गरेर दुर्घटना न्यूनीकरण नहुने भन्दै उहाँले यसप्रकारको कार्यक्रमलाई नियमित अगाडि बढाउँदै लैजाने बताउनुभयो ।
अन्तरक्रिया तथा सप्ताह समापन कार्यक्रममा यातायात व्यवस्था कार्यालयका सुचना अधिकारी गोबिन्द पौडेल, संचारकर्मी, यातायात व्यवसायी संघ, बिभिन्न संघ संस्थाका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।






