झापा , २० कार्तिक
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति आउन नदिने गरी निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताएका छन्।
यद्यपि, ठूलो प्राकृतिक विपत्ति अन्य कारण आइपरेमा भने मतदान स्थगित हुन सक्ने उनको भनाइ थियो। उनले सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने कुनियत राखेको खण्डमा त्यस्ता तत्व वा व्यक्तिलाई नियमसंगत कारबाही गरिने बताए।
४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा आइतबार झापाको बिर्तामोडमा निर्वाचन आयोग, नेपाल र नेपाल कानुन समाजले आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका” विषयक कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन्।
उनले कुनै पनि मतदाताले आफूलाई लोभलालच र धाकधम्कीका कारण मतदान गर्नबाट अफ्ठ्यारो स्थिति सृजना गरियो भन्ने गुनासो आउने वातावरण सृजना नै नहुने गरी आयोग देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिको बताए।
निर्वाचन आचारसंहिता र निर्वाचन खर्चको पालनासहित स्वच्छ र स्वतन्त्र निर्वाचन गराइने बताउँदै उनले सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणाष्पद अभिव्यक्तिलाई नियमन गर्नसमेत आयोग लागि परेको बताए।





