चितवन, फागुन ८
चितवनको भरतपुर २ क्षेत्रपुरमा रहेको फोर्ब्स कलेजले विद्यार्थीहरुका लागि दुईदिने तेस्रो संस्करणको अन्तर कलेज कुलिनरी र पावरपोइन्ट प्रतियोगिता गर्ने भएको छ । कलेजले भोलि फागुन ९ र १० गते नवलपुर र चितवनका कलेजमा कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीबीच प्रतिस्पर्धा गराउन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
कलेजका अध्यक्ष राजकुमार दाहालले कुलिनरी र पावरपोइन्टमा भाग लिन कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट र कम्प्युटर विज्ञापन अध्ययन गरेका विद्यार्थी हुनुपर्ने बताउनुभयो । तेस्रो संस्करणको प्रतियोगितामा कुलिनरी प्रतिस्पर्धातर्फ पहिलो चरणमा विद्यार्थीहरुले क्लासिक चिकेन क्लब स्याण्डविच विथ फ्रेन्च फ्राइज र फाइनलमा चिकेन मिटबल विथ टोमाटो सर बनाउनुपर्ने दाहालले बताउनुभयो । त्यस्तै पावरपोइन्ट प्रिजेन्टेसनतर्फ विद्यार्थीहरुले साइबर सेक्युरिटी अन्तरगत रहेर पावरपोइन्ट बनाइ प्रतिस्पर्धा गर्नुपर्ने उहाँको भनाइ छ ।
कलेजका सहायक पिन्सिपल एवं इन्जिनियर दिवस मैनालीले प्रतियोगितामा सहभागी हुनका लागि नवलपुर र चितवनका ५० भन्दा बढी कलेजहरुलाई पत्राचार गरिसकिएको जानकारी दिनुभयो । उहाँले २० वटा कलेज सम्पर्कमा आइसकेका बताउनुभयो । एउटा समूहमा एक जना छात्रासहित चार जना विद्यार्थी सहभागी हुन पाउने प्रतियोगितामा प्रथम, दोश्रो र तेस्रो हुने सहभागीलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद क्रमशः रु १५ हजार, १० हजार र ५ हजारको व्यवस्था गरिएको मैनालीले जानकारी दिनुभयो । उहाँले प्रतियोगिताको बुधबार बिहान ११ बजे कलेज प्राङ्गणमा भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटले उद्घाटन गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने उद्देश्यसहित फोर्ब्स कलेज स्थापना गरिएको कलेजका प्रिन्सिपल हरीशरण पाठकले बताउनुभयो । उहाँले विश्व बजारले खोजेको हस्पिटालिटी र आईटीको शिक्षा आफूहरुले प्रदान गरिरहेको जानकारी दिनुभयो।





