चितवन,२७ कात्तिक
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोलि चितवन आउँदै हुनुहुन्छ । एमाले चितवनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न ओली चितवन आउनुहुने भएको छ । एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि गेस्ट हाउस चौरमा हुने चुनावी आम सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
आम सभालाई व्यवस्थित बनाउन नेकपा एमाले चितवन, निर्वाचन परिचालन कमिटी बनाइएको छ । चुनावी सभामा जिल्लाभरबाट २५ हजार भन्दा बढी जनता सहभागी हुने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभएको छ । भरतपुरका तीन ठाउँ केन्द्रिय बसपार्क चोक, मालपोत चोक र चौविसकोठीबाट जम्मा भएर कार्यक्रम स्थलको लागि र्याली निस्कने उहाँले बताउनु भएको छ ।
एमाले अध्यक्ष ओली भोलि बिहान साढे ११ बजे कार्यक्रम स्थलमा आइपुग्ने र भोलि नै अन्य जिल्लामा समेत कार्यक्रम तय भएकाले दिउँसो १ बजेसम्म ओलीले आफ्नो सम्बोधन सकिसक्ने जनाइएको छ ।





