चितवन, २७ कार्तिक
चितवन निर्वाचन २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उत्तम जोशीले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताउनुभएको छ । प्रदेश २ (ख) का बिभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने योजना रहेको बताउनुभयो । उहाँले जखडीमाई, गणेशस्थानलगायतको क्षेत्रलाई समेटी धार्मिक साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा बिकास गर्ने बताउनुभयो ।
यस्तै जलदेवी सामुदायीक वन, राइनोताललगायतका व्यवस्थित गर्न सके आन्तरिकसँगै बाह्य पर्यटकको आवागमन बढ्ने उहाँको विश्वास छ । पर्यटक चितवन आउँदा क्षेत्र नम्बर २ घुम्नै पर्ने किसिमले पर्यापर्यटनको बिकास गर्ने योजना रहेको बताउनुभयो । ’पर्यटकहरु चितवनको सौराहा, मेघौली, गोलाघाट घुम्न आउँदा चितवन २ मा पनि रोकिउन् भन्ने उद्धेश्यले यहाँको पर्यटन क्षेत्रको बिकास गर्ने अघि सारेको छु’, जोशीले भन्नुभयो । केरुङ्गा घोल, डबकहा घोल, पुङ्गीखोलालगायतलाई व्यवस्थित गर्ने उहाँको प्रतिवद्धता छ ।
धार्मिकस्थल तथा साँस्कृतिक क्षेत्रको संरक्षण र विकासलाई पनि जोड दिने उहाँले प्रतिवद्धता जनाउनुभयोे । यसले रोजगारी सृजनाका साथै स्थानीयको आम्दानीको स्रोत पनि बढ्ने उहाँको विश्वास छ ।





