चितवन, चैत २७
चितवन उद्योग संघ र कम्प्युटर एशोसिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा मिति २०८१ बैशाख ७ गतेदेखि ११ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुर, चितवनमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ हुने भएको छ । प्रदर्शनीको तयारीको विषयमा पत्रकार सम्मेलन मार्फत जानकारी गराईयो ।
उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता विकासका लागि सहयोग पु¥याउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ लक्षित प्रदर्शनी तथा मेला महोत्सव अन्तर्गत नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोगमा प्रदर्शनीको आयोजना गर्ने तयारी भईरहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
प्रदर्शनीमा एक सय ५० कक्ष रहने उद्योग संघका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागिएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी २५ हजार जनाले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।
आगामी वैशाख ११ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ‘स्टार्ट अप’ सेमिनार र नेपालको वर्तमान औद्योगिक नीतिसम्बन्धी छलफलसमेत हुनेछ । प्रदर्शनी अवधिमा शून्य प्रतिशत ब्याजदरसहित किस्ताबन्दीमा ल्यापटप खरिद गर्न सकिने महासङ्घका अध्यक्ष टेकलाल भुसालले जानकारी दिनुभयो ।
कम्प्युटर, ल्यापटप तथा प्रिन्टरको निःशुल्क मर्मत गरिने छ । भरतपुर भ्रमण वर्ष–२०२४ लाई दृष्टिगत गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा अनलाइनमार्फत रजिष्ट्रेसन गरेर आउने अवलोकनकर्तामध्ये दैनिक तीनजनालाई पुरस्कृत गरिने छ । अर्थतन्त्रमा परेका प्रभावका कारण उद्योग व्यापार सुस्ताएको समयमा गर्न लागिएको मेलाले यहाँको अर्थतन्त्र चलायमान बनाउने अपेक्षा आयोजकको छ ।
प्रदर्शनीका क्रममा स्वदेशी एवम् विदेशी उद्योगीहरूका वीच प्रत्यक्ष भेटघाटका माध्यमबाट हुने छलफलबाट औद्योगिक उत्पादनको चरणमा वस्तुको बजार र उपभोक्ता आकर्षण गर्न, ब्राण्डिङ्ग, लेवलिङ्ग र प्याकेजिङ्ग, प्रक्रियाका सम्बन्धमा ज्ञान अभिवृद्धि गर्न तथा व्यवसायिक सम्बन्ध स्थापित गर्न सहयोग गर्ने, आधुनिक सूचना प्रविधिको अधिकतम् सदुपयोग गरी औद्योगिक विकासमा प्रयोग हुने आधार तयार गर्ने, तीनै तहका सरकारका औद्योगिक कार्यक्रमहरु लक्षित उद्योगीहरुसम्म पु¥याउन सहयोग गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।





