चितवन, वैशाख १५
नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले चितवनमा पनि सेवा विस्तार गरेको छ । काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरापछि चितवनमा फुडमाण्डुको सेवा विस्तार भएको हो । सेवा विस्तार गरेको अवसरमा कम्पनीले वैशाख ३१ गतेसम्म हरेक अर्डरमा ‘फुडसफारी’ कोड प्रयोग गर्दा ३० प्रतिशत (५०० रुपैयाँसम्म) छुट दिने घोषणा गरेको छ ।
कम्पनीले भरतपुरमा शुक्रवार पत्रकार सम्मेलनगरी फुडमाण्डुको सेवा विस्तारबारे जानकारी दिएको हो । सेवाग्राहीले फुडमाण्डुको मोबाइल एप र बेवसाइटमार्फत खाना अर्डर गर्न सक्नेछन् ।
कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहरा अधिकारीले फुडमाण्डुलाई फुड डेलिभरीको अग्रणी कम्पनीको रुपमा देशमा प्रमुख सहरहरुमा विस्तार गर्ने योजना रहेको बताउनुभएको छ ।
चितवनमा सेवा विस्तारको प्रारम्भिक चरण रहेकोले अहिलेसम्म २५ भन्दा बढी आबद्ध भइसकेको उहाँले जानकारी दिनुभयो । ‘सुरुवाती चरणमा भरतपुरबाट १० किमीसम्म अर्डर डेलिभरी गरेका छौँ । यसलाई अझ बढाउँदै लैजानेछौँ’, उहाँले भन्नुभयो । फुडमाण्डुले खाना डेलिभरी गरेबापत सम्बन्धित रेष्टुरेन्ट व्यवसायीसँग सेवा शुल्क लिन्छ भने सेवाग्राहीसँग दुरी र अर्डरको आधारमा डेलिभरी चार्ज लिन्छ । १.५ किमीसम्म डेलिभरी गर्दा २५ रुपैयाँ र त्यसभन्दा बढी दुरी भए प्रतिकिमी २५ रुपैयाँ थप चार्ज लाग्ने उहाँले बताउनुभयो । एक हजार रुपैयाँ भन्दा बढीको खाना अर्डर गर्दा जुनसुकै ठाउँको लागि ७५ रुपैयाँ चार्ज लाग्ने छ ।
कम्पनीका ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले फुडमाण्डुको सेवा विस्तार गर्न पाउँदा खुसी भएको बताउनुभयो । चितवनका प्रख्यात रेष्टुरेन्टहरुबाट खानेकुराहरु घर, अफिस वा ग्राहकले चाहेको ठाउँमा अनलाइनमार्फत डेलिभरी गर्न आफुहरु उत्साहित भएको उहाँले बताउनुभयो ।
रेष्टुरेन्ट एण्ड बार एशोसियसन चितवनका अध्यक्ष अच्युतराज भट्टले फुडमाण्डुको विस्तारले सिथिल बनेको चितवनको हस्पिटालिटी क्षेत्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसले चितवनमा नयाँ रोजगारी समेत सिर्जना हुने भन्दै उहाँले चितवनको हस्पिटालिटी क्षेत्र २४सै घण्टा सञ्चालन हुनुपर्ने उहाँको भनाई थियो ।





