१२ जेष्ठ २०८१, शनिबार २३:०१
काठमाडौँ, जेठ १२
पूर्वराष्ट्रपति डा रामवरण यादवले देशमा संविधान र विधिको शासन हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाको १७औँ साधारणसभा तथा १२औँ अधिवेशनको आज उहाँले उद्घाटन गर्दै लोकतन्त्रमा मात्र सञ्चार क्षेत्रको विकास सम्भव हुने उल्लेख गनुभयो ।
पूर्वराष्ट्रपति यादवले संविधानअनुसार स्वतन्त्र प्रेसको मर्मलाई सरकारमा रहेकाहरूले पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “देशमा संविधान र कानुनअनुसार काम हुनु पर्छ। सञ्चार क्षेत्र आफ्नो धर्मअनुसार संविधानको पालनाका लागि अगुवा बन्नुपर्दछ।”
देशको आर्थिक अवस्था कमजोर रहेकाले राजनीतिक दलका शीर्षस्थ नेताहरू बसेर छलफल गर्नुपर्ने पूर्वराष्ट्रपति यादवको भनाइ थियो। अहिलेको संविधान र शासन व्यवस्था विश्वमा नै उत्कृष्ट रहेको उहाँले उल्लेख गनुभयो ।





