काठमाडौं, जेठ २८
भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको छ ।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी, उहाँहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल आइतबार साँझ भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुनुभएको थियो । शपथग्रहणपछि उहाँहरुबीच भेटवार्ता भएको थियो । सो भेटमा प्रधानमन्त्री दाहालले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकामा मोदीलाई बधाई दिनुका साथै उहाँको आगामी कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहाल आइतबार साँझ नै भारतका राष्ट्रपति मुर्मुले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो । आइतबार बिहान दिल्ली गएको प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल सोमबार साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।





